प्रदेश नं ७ प्रदेशसभावाट दुई विधेयक पारित

१ वर्ष अगाडि रासस

धनगढी, २७ भदौ । प्रदेश नं ७ प्रदेशसभाको मंगलबारको बैठकले स्थानीय तहलाई वित्तीय हस्तान्तरण व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ र प्रदेश नं ७ को कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई पारित गरेको छ ।

यसअघि बैठकमा सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । यसैगरी प्रदेश नं ७ को कर र गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि यसअघि भएको सामान्य छलफलमा सदस्य लीलाधर भट्ट र भरतबहादुर खड्काले भाग लिएका थिए ।

प्रदेशसभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिमा यी दुवै विधेयकमाथि दफावार छलफल भई तयार भएको प्रतिवेदन सोमबारको बैठकमा प्रस्तुत गरिएको थियो । बैठकमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ माथि भएको छलफलमा सदस्य अमरबहादुर साउँद र डा रणबहादुर रावलले भाग लिएका थिए ।


यो विधेयक पारित भएसँगै स्थानीय तहलाई प्रदेशले आफ्नो स्रोतबाट दिने अनुदान (बजेट) र सङ्घीय सरकारबाट स्थानीय तहलाई प्रदेश सरकारमार्फत प्राप्त हुने बजेट वितरणमा सहज हुने भएको छ । स्थानीय तहलाई अहिलेसम्म सङ्घीय कानूनअनुसार अनुदान बजेट वितरण हुँदै आएको थियो । ऐन बने पनि नियमावली र निर्देशिका बनाउनुपर्ने भएको छ ।

यसैगरी प्रदेश नं ७ को कर र गैरकर राजश्व उठाउने र लगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
, २०७५ पारित भएपछि प्रदेश सरकाले आफ्नो अधिकार प्रयोग गरेर कर लगाउने र उठाउन पाउने भएको छ । अहिलेसम्म सङ्घीय कानूनअनुसार कर उठाउने र लगाउने काम हुँदै आएको थियो । यो ऐनको पनि नियमावली र निर्देशिका बनाउनु आवश्यक छ ।


त्यस्तै प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनिता चौधरीले ‘प्रदेश नं ७ को सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि सामान्य छलफल गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ । यो विधेयकमाथि भएको सामान्य छलफलमा सदस्य महेशदत्त जोशी र तरालामा तामाङले भाग लिएका थिए ।


बैठक प्रारम्भ हुनासाथ समय माग गरी सदस्य मनाकुमारी साउँदले अछामको नन्देगडा रिठेगाउँमा पहिरोका कारण १२ घरपरिवार विस्थापित भएका र ४० परिवार जोखिममा परेकाले प्रभावितको बसोबास र राहतको व्यवस्था गर्न सरकार र सभाको ध्यानाकर्षण गराए । उनले जुम्ल्याहा बच्चा जन्माएकी अछाम विनायक नगरपालिकाकी चन्द्रा धामीसहित उनको शिशुको समयमै उपचार नपाई मृत्यु भएको जानकारी दिँदै स्वास्थ्योपचारमा समयमै ध्यान दिन पनि माग गराइन् । प्रदेशसभाको अर्को बैठक आगामी असोज १ गते दिउँसो १ बजे बस्नेछ ।