सुस्ता -सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे किसानहरूको समस्या समाधानमा केन्द्रित रहेको बताउनुभएको छ । गाउँपालिकाभित्र उखु र केरा किसानहरूको समस्या प्रशस्त रहेकाले सो समस्या समाधानमा आफू लागिपरेको बताउनुभएको हो ।सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष पाण्डेले उखुको भुक्तानी समयमा नहुनु, उचित मूल्य निर्धारण नहुनु यहाँका किसानहरूका लागि अत्यन्त दुःखदायी कुरा भएको बताउनुभयो । 'केरा किसानहरूका लागि भने भारत खुला सिमाना भएका कारण भारतबाट आउने केराका कारण हामीलाई बजारमा प्रतिस्पर्धा गर्न समस्या भएको छ। यसलाई न्यूनीकरण गर्नका निमित्त भारतबाट केरा आयात रोक्नका लागि र उखुको मूल्य समयमा तोक्नका लागि तथा समयमा भुक्तानी लिनका लागि सम्बन्धित मिलवाला र सरोकारवाला सबैलाई घचघच्याइरहेका छौँ', उहाँले भन्नुभयो , 'छिट्टै मूल्य निर्धारण हुनेमा हामी विश्वस्त छौँ।'प्रदेश ५ का १२ जिल्लामध्येको एक नवलपरासी पश्चिमका सातवटा स्थानीय तहमध्येको एक गाउँपालिका हो। यस गाउँपालिकाको पूर्वमा विनयी त्रिवेणी गाउँपालिका र भारतको बिहार प्रदेश, दक्षिणमा भारतको उत्तर प्रदेशसँग सिमाना जोडिएको छ। पश्चिमतर्फ प्रतापपुर गाउँपालिका र बर्दघाट नगरपालिकासँग जोडिएको छ भने उत्तरमा बर्दघाट नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकासँग जोडिएको छ। यस गाउँपालिकाको घोषणा हुँदा प्रदेश ४ मा रहे पनि पछि प्रदेश ५ मा कायम गरिएको हो। साविकका कुडिया गाविस, त्रिवेणी सुस्ता गाविसको वडा ४, रुपौलिया गाविसको वडा ३ देखि ९, नर्सही गाविस र पक्लिहवा गाविस मिलेर बनेको र पाँचवटा वडाभित्र विभाजित रहेको छ। पवित्र, प्रशिद्ध, धार्मिक एवं ऐतिहासिक रूपमा अन्तर्राष्ट्रियस्तरमा परिचित नारायणी नदीको किनारामा ९१।२४ वर्ग किलोमिटरमा फैलिएको यस गाउँपालिकामा मधेसी, दलित, ब्राह्मण, क्षेत्री, मगर, नेवार आदि जातिहरू गरी करिब सात हजार २१३ घर परिवारका ४४ हजार ४०३ जनाको बसोबास रहेको छ। यस गाउँपालिकाका ९५ प्रतिशत जनता निर्वाहमुखी कृषि र पशुपालन पेसामा संलग्न छन् भने पाँच प्रतिशत जनता अन्य पेसामा संलग्न छन्।समग्रमा यहाँका बासिन्दाको जीवनस्तर मध्यम रहेको छ।