२०७८ असार १९ शनिबार, मेचीनगर नगरपालिका (झापा)झापाको मेचीनगर नगरपालिका १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले सडकमा ढल निमार्णका विषयमा भएको विवादमा इटा प्रहार गर्दा नेपाली काँग्रस मेचीनगरका सचिव अर्जुन थेवे घाइते हुनुभएको छ । वडाध्यक्ष सिग्देलले शुक्रबार अपरान्ह चारआलीस्थित थेवेको घर अगाडि सडकमा ढल निर्माण गर्ने बिषयमा विवाद हुँदा थेवेको टाउकोमा ईटा प्रहार गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । ईटा प्रहारवाट थेवेको टाउकोमा गम्भिर चोट लागेको छ । सुरुमा दुईजनाबीच धकेलाधकेल भएपछि वडाध्यक्ष सिग्देलले थेवेको टाउकोमा इटा प्रहार गरेको प्रत्यक्षदर्शीले जनाएका हुन् ।घटनालाई लिएर थप छलफल गर्ने गरि वडाध्यक्ष सिग्देललाई मेचीनगरका प्रमुख बिमल आचार्य र उपप्रमुख मिना उप्रेतीको रोहबरमा चार आली चौकीबाट लगिएको बताइएको छ । हालसम्म पीडितको तर्फबाट कुनै किटानी जाहेरी नदिइएको प्रहरीले जनाएको छ ।थेवेको चारआलीस्थित मनकामना अस्पतालमा प्राथमिक उपचार पश्चात बिएण्डसी हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइते थेवेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिनुभएको छ ।