शुक्लाफाँटा नगरपालिकाद्वारा तटबन्ध निर्माण

१ वर्ष अगाडि रासस

कञ्चनपुर, ६ भदौ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ मा १२ लाखको लागतमा ६४ मिटर लम्बाइको तारजाली र ढुङ्गाको तटबन्ध निर्माण गरिएको छ ।

नगरपालिकाको वडा कार्यालयले भूक्षय रोक्नका लागि सुनबोरा नदीमा आठ लाखको लागतमा ४२ मिटर र स्याली नदीमा चार लाखको लागतमा २२ मिटर तटबन्ध निर्माण गरेको हो । दुवै नदीमा तटबन्ध निर्माण गरिएपछि ३०० परिवारको जग्गा भूक्षय हुनबाट जोगिएको छ ।

चालू आवमा सुनबोरा नदीमा १० लाखको लागतमा ३५ मिटर र स्याली नदीमा छ लाखको लागतमा ३० मिटर तटबन्ध निर्माण गर्नका लागि बजेट विनियोजन गरिएको वडाध्यक्ष ज्ञानबहादुर विष्टले बताए । बजार विस्तार गर्न व्यावसायिक भवन निर्माण यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा वडा कार्यालयले व्यावसायिक भवन निर्माणको कार्य शुरु गरेको छ ।

बजार विस्तार गर्न र वडा कार्यालयको आम्दानीमा वृद्धि गर्नका लागि व्यावसायिक भवन निर्माणको कार्य शुरु गरिएको हो ।
वडा कार्यालयले १२ लाखको बजेटमा भवनको जग राख्ने र पिल्लर उठाउने कार्य पूरा गरेको छ । निर्माणाधीन भवनमा सातवटा व्यावसायिक प्रयोजनका लागि कोठा निर्माण गरिने वडाध्यक्ष ज्ञानबहादुर विष्टले बताए ।

“चालू आवमा भवन निर्माणको कार्य पूरा गर्नका लागि २० लाख बजेट विनियोजन गरेका छौँ” उनले भने । भवन भूकम्प प्रतिरोधी र आधुनिक हुने उनले बताए । नयाँ भवन निर्माणको कार्य पूरा गर्ने र थप ३० लाखमा आठ कोठे भवन बनाउनका लागि बजेट विनियोजन गरी चाँडै कार्य प्रारम्भ गरिने उनको भनाइ रहेको छ ।
यसैगरी दुई लाख रकम खर्चेर रामेश्वर शिव मन्दिरको पर्खाल निर्माणको कार्यसमेत पूरा गरिएको छ । मन्दिरलाई भजनकीर्तनमा सघाउ पु¥याउन ५० हजारको वाद्यबाधन सामग्रीसमेत उपलब्ध गराइएको छ । सिद्धनाथ मन्दिरमा वडाकै ५० हजार रकम खर्चेर शौचालय निर्माण गरिएको छ ।