गाउँपालिका राष्ट्रिय महासंघ : सुदूरपश्चिम प्रदेश अधिवेशन भोलि सुरु हुँदै

१० महिना अगाडि ७६१ खबर डटकम

जोरायल (डोटी)– गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेश अधिवेशन मंगलबारदेखि सुरु हुँदैछ । दुई दिने अधिवेशनको उदघाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनको सबै तयारी पूरा भएको जोरायल गाउँपालिकाका अध्यक्षसमेत रहेका महासंघको सुदूरपश्चिम प्रदेश संयोजक दुर्गादत्त ओझाले जानकारी दिनुभयो । डोटीको जोरायल गाउँपालिका– २ बुडरस्थित प्रहरी तालिम केन्द्रमा विशेष कार्यक्रमबीच मुख्यमन्त्री भट्टले अधिवेशन उदघाटन गर्नुहुने कार्यक्रम रहेको छ । अधिवेशनमा सुदूरपश्चिम प्रदेशका ५४ वटा गाउँपालिकाका १ सय ६२ प्रतिनिधि सहभागी हुनुहुनेछ ।

अध्यक्ष र उपाध्यक्ष अनिवार्य तथा वडाध्यक्ष र सदस्यहरुमध्येबाट १–१ गरी प्रत्येक गाउँपालिकाबाट ३–३ जना सहभागी हुनुहुनेछ । ओझाले उदघाटन कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरुले पनि सम्बोधन गर्ने जानकारी दिनुभयो ।

नेकपाबाट कर्ण थापा र कांग्रेसबाट भरत खड्कालगायतले सम्बोधन गर्नुहुनेछ । मंगलबार उदघाटन कार्यक्रममात्रै हुनेछ भने बुधबार बन्द सत्र गर्ने कार्यक्रम छ । बुधबार नै नयाँ कार्यसमिति र बुडर घोषणापत्र जारी गर्दै अधिवेशन समापन हुनेछ ।