भदौ ८ , भक्तपुर - देशको वर्तमान अवस्था र जनताको समृद्धिका लागि आर्थिक विकास मुल एजेण्डा बन्नु अपरिहार्य छ । आर्थिक विकासका लागि देशमा उत्पादन र वितरण कार्यलाई उच्च प्राथमिकता दिनुपर्छ । यसका लागि उत्पादकत्व वृद्धि गर्नुपर्छ । उत्पादन कार्य परनिर्भरतामा नभई आत्मगत सामथ्र्यमा आधारित हुनुपर्छ । पुर्वाधारहरूको समुचित विकास गर्नुपर्छ । यसका लागि प्राविधिक शिक्षामा जोड दिनु अनिवार्य छ । विशेषतः प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।प्राविधिक शिक्षाको विकासको प्रस्थान बिन्दु सभ्यताको प्रारम्भमा शिकारका लागि ढुगाका हतियार बनाउने विशिष्ट सिपदेखि सुरक्षा र स्वास्थ्यका बिकल्पहरूको विकास हो । मान्छेले प्रकृतिका विषमताहरूसँग जुभ्mदै बाँच्ने आधारहरू निर्माण गर्न गरिएका सबै प्रयत्न र त्यस अभियानमा विकास भएका सिप र प्रबिधिहरूबाट प्राविधिक शिक्षाको विकास भएको हो । प्राविधिक शिक्षा ज्ञान सिप र प्रविधिसँग जोडिएको छ ।प्रविधिको विकासले अहिले विश्व ग्लोबल भिलेजमा परिणत भइरहेको अवस्था छ । विगतमा साक्षारतालाई वर्णाक्षरको ज्ञान भन्ने बुझिने गरेकोमा अहिले जीवनोपयोगी प्रविधिको ज्ञानलाई साक्षारता अत्यावश्यक अङ्ग ठानिएको छ । प्रविधिको उपयोग जीवनलाई सरल, सवल र सुखमय बनाउनका लागि भइरहेको छ । विषम अवस्थामा समेत प्रविधिको प्रयोगबाट जीवनोपयोगी सुबिधा लिन सकिने उदाहरण नेपाललगायत केही देशहरूमा देखिएको छ । नेपालमा इन्टरनेट र टेलिफोनको प्रयोगबाट (टेलिमेडिसिन विधिबाट) ग्रामीण जनता शहरको औषधोपचारको सुविधा लिइरहेका छन् । एउटा गाउँका किसानले आप्mनो उत्पादन अर्को गाउँमा बिक्री गर्न अनलाइनबाट सुविधा लिइरहेका छन् ।वर्तमान अवस्थामा मान्छेका दैनिक गतिविधिहरू सबै प्रविधिको उपयोगमा सञ्चालित भइरहेका छन् । कोरोना महामारीसँगै प्रविधि जीवनशैली बनिसकेको छ । यस्तो अवस्थामा देशको आर्थिक विकासका लागि प्राविधिक शिक्षा अनिवार्य भएको छ । प्राविधिक शिक्षाको एउटा महत्वपूर्ण पाटो भनेको व्यवसायिक शिक्षा हो । निम्नस्तरीय तथा मध्यमस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न व्यवसायिक शिक्षाको विशेष भूमिका हुन्छ । यस्तो शिक्षा स्कुलदेखि नै प्रारम्भ गर्नुपर्छ । यस्तो जनशक्तिबाट पूर्वाधारहरूकोे निर्माण, पुनर्निर्माण तथा मर्मत सम्भार सम्भव हुन्छ । जुन उत्पादकत्व वृद्धि र पूँजी निर्माणका लागि अत्याबश्यक हुन्छ ।अहिले देखिएको विश्वव्यापीकरण र यसबाट सृजित श्रमशक्तिको विचरणलाई सम्बोधन गर्न व्यवसायिक शिक्षाको महत्व बढिरहेको छ । व्यवसायिक शिक्षाले प्रविधि र प्राविधिक साधनहरू (मेसिन तथा औजारहरू ) सञ्चालन मर्मत र सम्भार गर्न ज्ञान र सीप प्रदान गर्दछ । इतिहासदेखि नै समृद्धिको परिचायक सीपमूलक कार्यलाई लिने गरेको पाइन्छ । वैदिक युगमा राज्यको समृद्धिको लागि सीपमूलक काममा प्राथमिकता दिएको धार्मिक ग्रन्थहरूमा देखिन्छ । वास्तुविज्ञान, युद्धकला, कोषहरूकोे निर्माण तथा पुनर्निर्माण, उर्जा निर्यात, जीव विज्ञान, गरगहना निर्माण, आदिको चर्चा धार्मिक ग्रन्थहरूमा पाइन्छ ।नेपाल पौराणिक कालदेखि काष्ठकला, मूर्तिकला तथा धातुकला सम्बन्धी सीप भएको धनी देश हो । यस्तो सीपको प्रदर्शनबाट वैदेशिक मुद्रा आर्जन गरी देशको आर्थिक विकास गर्ने प्रचुर सम्भावना भए तापनि केही दशकदेखि यस्ता सीपमा कार्य गर्ने व्यक्तिहरूको संख्या उल्लेख्य मात्रामा घट्दो छ । कतिपय त लोप हुने अवस्थामा छन् । देशभरि विभिन्न पेसा र व्यवसायमा छरिएर रहेका कारीगर तथा प्राविधिज्ञहरू वास्तविक ग्राह्रस्थ्य उत्पादनमा संलग्न रहने जनशक्ति हुन् । उनीहरूको सीपको कदर गर्दै सामाजिक प्रतिष्ठा उठ्न सक्ने स्थितिको सिर्जना गरी, पेशागत मनोबल उच्च गराउनुपर्छ ।देशको सामाजिक आर्थिक विकासका लागि रोजगारीको वृद्धि र व्यक्तिको आय आर्जनको क्षमता वृद्धि गर्नु आवश्यक छ । नेपाली जनशक्तिले आन्तरिक बजारमा मात्र होइन, विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने बनाउनुपर्छ ।मुलुकको आर्थिक विकास र गरिबी निवारण गर्न आर्थिक रूपमा सक्रिय जनशक्तिलाई उनीहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ । विभिन्न ढङ्गले विभेदमा परेका तथा उपयुक्त अवसर नपाएका व्यक्ति र समुदायलाई प्राथमिकताका साथ सिप विकास गराउनुपर्छ । व्यवसायिक शिक्षाको मर्म यही हो ।नेपालमा व्यवस्थित अध्ययनको प्रारम्भ गुरुकुलबाट भएको पाइन्छ । १३औं शताब्दीमा अरनिकोको सिप र वास्तुकला नेपाल र चीनमा प्रख्यात थियो । मल्ल कालमा (१२ देखि १८ औँ शताब्दी) हस्तकला, मुर्तिकलालगायत कुटिर उद्योगमा विशेष विकास भएको थियो । जहानिया राणाकालमा औपचारिक प्राविधिक शिक्षाको लागि नेपालीहरूलाई जापान पठाइएको थियो । औपचारिक प्राविधिक शिक्षाको थालनी सन १९३० (वि.सं.१९८७/११/१९) मा वसन्तपुर कुमारी चोकमा सिलाइबुनाइ(टेक्स्टायल) सिप सिकाउने गरी प्राविधिक स्कुल स्थापनाबाट भएको थियो ।औपचारिक रूपमा विद्यालय तहमा व्यावसायिक सिप र ज्ञान दिने गरी विसं.२००४ मा थालनी भएको थियो । सुरुमा (२००४ देखि २०१४ वि.सं.)आधार स्कुलको रूपमा सिलाइ, कटाइ, बुनाइ हस्तकला, आदि सिपहरू स्कुलमा सुरु गरियो ।दोस्रो चरणमा (२०१५ देखि २०२५ वि.सं.) वहुद्देश्यीय विद्यालय स्थापना गर्दै पूर्वव्यवसायिक तथा व्यावसायिक सिप सुरु गरियो । तेस्रो चरणमा (२०२८ देखि २०३७ वि.सं.) राष्ट्रिय शिक्षा योजना अन्तरगत आधारभूत तथा मध्यम स्तरीय जनशक्ति उत्पादन गर्न सबै स्कुलहरूमा व्यवसायिक सिप र ज्ञान अनिवार्य गरियो ।चौथो चरणमा (२०३७ विसं.देखि हालसम्म) प्राविधिक शिक्षालय नीति प्रारम्भ गरियो । यो नीति अन्तरगत विसं. २०३९ मा राष्ट्रिय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम समिति गठन भई प्राविधिक शिक्षालयहरू स्थापना र व्यवस्थापन गरियो ।समय क्रममा विसं. २०४५ मा हालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी स्थापना भई सञ्चालनमा रहेको छ । व्यावसायिक शिक्षाको केन्द्रका रूपमा सीटीईभीटीले नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा सबै नेपालीको पहुँच पुर्याएर रोजगार बनाउने बृहद उद्देश्य राखेको छ ।परिषद्ले प्राविधिक शिक्षाको रुपमा कृषि, स्वास्थ्य र इन्जिनियरिङ क्षेत्रका ज्ञान र सिपहरू शिक्षण प्रशिक्षण गरेको छ । विकास र व्यवस्थापनको क्षेत्र पनि अहिले व्यवसायिक शिक्षाभित्र परिषद्ले समेटेको छ ।प्रविधि जीवनशैली बनिसकेको आजको अवस्थामा आय आर्जन गर्ने सिपहरूको तालिम अनिवार्य बनेको छ । विश्व परिवेश हेर्ने हो भने धनी देश त्यही देखिन्छ । जसले जनशक्तिलाई सीपयुक्त गराएर उत्पादनशील गराउन सकेको छ । विश्वमा भइरहेको प्रविधिको द्रूततर विकासले गर्दा सीपको महत्व पनि तीव्र गतिले बढिरहेको छ ।सवल अर्थतन्त्र भएका धेरै विकसित देशले आफ्ना प्रविधिको सामथ्र्यलाई विकास गरेर आजको अवस्थामा आइपुगेका हुन् । यसका साथै प्राज्ञिक तथा उद्यमशील क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ । उदाहरणका रुपमा अमेरिकामा साठीको दशकमा त्यहाका तत्कालिन राष्ट्रपति जोन एफ केनेडीको चन्द्रमामा पुग्ने सपना पूरा गर्न अभूतपूर्ण प्रविधिको विकास गरियो । चीनमा तत्कालिन नेताहरू माओजेदुङ तथा तेङ साओ पिङको समृद्ध चीन निर्माणको सपना साकार पार्न व्यापक रुपमा प्रविधिको विकास गरियो ।छिमेकी भारतमा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूको समृद्ध भारत निर्माणको सपना पूरा गर्न ५ वटा आईआईटी स्थापना गरी सुरु भएको अभियानले भारत अहिले प्रविधिको क्षेत्रमा अग्रणी रहेको छ ।दक्षिण कोरिया, सिंगापुरलगायत देशमा देखिएको आर्थिक विकास प्रविधिको विकासमा विशेष जोड दिएका कारणबाट भएको प्रस्ट छ ।प्रविधिको विकास गर्न प्राविधिक उच्च शिक्षाको क्षेत्रलाई प्राथमिकताको क्षेत्रका रूपमा राखिएकाले यी देशहरूमा रुपान्तरण सम्भव भएको हो । आर्थिक समृद्धिको आधार पूँजी निर्माण हो । कुनै देश कति धनी छ भन्ने कुरा त्यो देशमा कति पँुजी संकलित छ भन्ने कुराले देखाउने गर्छ । अहिले विश्वभरि परम्परागत ज्ञानभन्दा प्राविधिक ज्ञान र सिपलाई पूँजीका रुपमा लिइने गरिएको छ । यो विकसित अवस्थालाई मध्येनजर गरी धेरै देशले प्रविधि र सिप विकासमा उच्च प्राथमिकता दिन थालेको अवस्था छ ।विश्वमा अहिले नयाँ प्रबृत्ति ग्लोबल स्किल रेस देखिएको छ । उच्च शिक्षालाई दक्ष जनशक्ति उत्पादनको केन्द्रका रुपमा हेर्ने गरिएको छ । साथै यसलाई आर्थिक समृद्धिको आधारका रुपमा ग्रहण गरिएको छ । सोहीबमोजिम अधिकांश देशले नीतिगत रूपमा उच्च शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राखी दक्ष श्रमशक्ति उत्पादन गर्न विद्यमान परम्परागत शैलीलाई परिवर्तन गरेका छन् ।प्रविधिको द्रूततर विकासबाट विश्वबजारमा गम्भीर प्रतिस्पर्धा भइरहेको छ । यसलाई सम्बोधन गर्न दक्ष जनशक्ति आपूर्ति गर्नुपर्छ तर यस्तो जनशक्ति विश्व बजारमा अवसरको खोजी गर्ने र फलस्वरूप श्रमशक्तिको व्यापक विचरण भइरहेको छ ।यसलाई सम्बोधन गर्न नसक्दा नेपाललगायतका अल्पविकसित देशहरूले वैदेशिक रोजगारीबाट लाभ लिन सकिरहेका छैनन् ।अहिले ज्ञानको असिमित शक्तिलाई पहिचान गर्दै त्यसको सृजनात्मक तथा उत्परिवर्तित प्रयोगबाट असीमित सम्पत्ति आर्जन गर्न सकिने मान्यता विकास भएको छ । बिगतमा सम्पत्ति आर्जन गर्न भौतिक पूँजी लगानी गर्नु पर्ने विधि सूचना प्रविधिको विकासँगै बदलिएको छ । यद्यपि नेपाल सरकार र त्यहाँ नीति निर्माणमा रहेकाले यो वास्तविकतालाई गम्भीर भएर महसुस गरेको देखि“दैन । त्यसैले प्राविधिक शिक्षा परम्परागत शैलीबाट विश्वविद्यालयमा सञ्चालित हुदैआएका छन् ।प्राविधिक शिक्षामा ध्यान दिन नसक्दा कुनै विषय चर्चामा आएको खण्डमा प्रयोगको निम्ति केही नीतिगत निर्णयहरू हुने गरेका छन् । तर तिनीहरू कार्यान्वयन हुनुपूर्व नै हराउँछन् । यो गम्भीर चुनौती हो ।