चैत ६,काठमाडौं - कोरोना भाइरसको त्रास बढेसँगै निर्धारित समयभन्दा अघिल्लो दिन एसइई परीक्षासमेत स्थगित गरेपछि परीक्षाका लागि तयार पारिएको प्रश्नपत्र सुरक्षित रहला वा नरहला भन्ने प्रश्न उब्जिएको छ । हुन त शिक्षा मन्त्रालयले सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालयमा प्रश्नपत्र सुरक्षित राखिने जनाएको छ । तर, प्रहरी कार्यालयमा रहने प्रश्नपत्र सुरक्षित होलान् भन्ने आशंका टर्ने अवस्था भने छैन । किनकि अघिल्लो वर्षको एसइई परीक्षाको प्रश्नपत्र बाहिरिनुमा प्रहरीकै संलग्नता देखिएको थियो । शिक्षाविद् डा। विद्यानाथ कोइराला प्रश्नपत्र सुरक्षाको संवेदनशीलतालाई ख्याल गरी स्थानीय र प्रदेश सरकारले पनि उचित कदम चाल्नुपर्ने बताउँछन् । उनी अहिलेको अवस्थालाई ध्यान दिएर परम्परागत परीक्षा प्रणालीमा मात्र सीमित हुनुभन्दा यसपटकका लागि केही व्यावहारिक प्रश्नसमेत सोध्न सकिने बताए । कोइरालाका अनुसार गोपनीयता भंग नहुने हो भने यही प्रश्नपत्रलाई पुनः प्रयोग गर्न सकिन्छ । यदि प्रश्नपत्र सुरक्षित नहुँदा विकल्पका रूपमा व्यावहारिक प्रश्न तयार पार्न उनी सुझाब दिन्छन् । सबै पाठ्यक्रमलाई समेटेर प्रश्नपत्र तयार गरिएकाले त्यसलाई गोप्य र सुरक्षित राख्न सकिएको खण्डमा तिनै प्रश्नपत्रलाई नै प्रयोग गर्न सकिने शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए । त्यस्तै, राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा मन्त्रालयले प्रश्नपत्र सुरक्षित राखिने जनाएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘प्रश्नपत्र सुरक्षित छन् र सुरक्षित रहन्छन् ।’ अघिल्लो वर्ष एसइई परीक्षाको प्रश्नपत्र बाहिरिएका कारण यस वर्षको एसइई प्रश्नपत्र सुरक्षामा प्रश्न उठ्नु स्वाभाविक देखिन्छ । यदि प्रश्नपत्र बाहिरिएको खण्डमा सरकारले नयाँ प्रश्नपत्र तयार र छपाइका लागि थप खर्च गर्नुपर्ने हुन्छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार एसइई परीक्षाको प्रश्नपत्र तयार गर्न झण्डै तीन करोड खर्च हुन्छ । साथै प्रश्नपत्र तयार गर्न दुईदेखि तीन महिना समय लाग्ने उनको भनाइ छ । यसरी हेर्दा यदि प्रश्नपत्र सुरक्षित नरहेको खण्डमा राज्यकोषमा थप तीन करोडभन्दा बढी भार पर्नेछ भने प्रश्नपत्र तयार पार्न थप समयसमेत लाग्नेछ । यसले देशको मनोबल र प्रहरी प्रशासनप्रतिको विश्वसनीयतामा समेत ह्रास ल्याउनेछ । त्यसैले निर्धारित समयको मुखैमा स्थगित गरिएको एसइई परीक्षाको प्रश्नपत्र जसरी पनि सुरक्षित र गोप्य राख्न विशेष ध्यान दिन जरुरी रहेको विज्ञहरू बताउँछन् । आजको नयाँपत्रिकामा खबर रहेको छ ।