२०७८ असार ९ बुधवार, नवलपरासी पश्चिम (लुम्विनी प्रदेश)कृषि ज्ञान केन्द्र नवलपरासी पश्चिमले ५० प्रतिशत अनुदानमा कृषकलाई कृषि यन्त्र वितरण गरेको छ । कृषिको पकेट क्षेत्र रहेको नवलपरासीका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा पम्पिङ सेट बोर्डिङ्ग लगायतका कृषि यन्त्रहरू वितरण भएको हो ।जिल्लाको पाल्हीनन्दन गाउँपालिका १५० बढी किसानहरुलाई बेलासपुर कृषक समूहले ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा कृषि यन्त्रहरू वितरण गरेको छ ।समूहको अध्यक्ष अनिल कुमार मिश्राको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका प्रमुख बैजु प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा सो गाउँपालिकाका वडा २, ३ र ४ का गरि १ सय ५० बढी किसानहरुलाई उक्त कृषि यन्त्रहरु वितरण गरिएको हो ।कृषकहरुलाई कृषि यन्त्र वितरण कार्यक्रममा प्रमुख अतिथि एवं पाल्हीनन्दन गाउँपालिका प्रमुख बैजु प्रसाद गुप्ताले ती कृषकहरुलाई कृषि यन्त्रहरू वितरण गर्नु भयो ।प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ब्लक विकास कार्यक्रम मार्फत कृषि ज्ञान केन्द्र नवलपरासीको ५० प्रतिशत र कृषकहरूको ५० प्रतिशत लगानीमा ४६ लाख ७६ हजार रुपैया बराबरको उक्त कृषि यन्त्रहरू वितरण गरिएको समुहका अध्यक्ष अनिलकुमार मिश्राले जानकारी दिनुभयो ।अध्यक्ष मिश्रका अनुसार कृषकहरुलाई वितरण गरिएको कृषि यन्त्रमा १७ थान पम्पिङ सेट, २ थान भुसा बनाउने मेसिन, १४ थान पानी तान्ने मोटर, ३५ थान बोर्डिङ्ग, ५१ थान सिडबिन, ५५९ फिट सेक्सन पाईप, ७४० किलो डेलिभरी वितरण भएको हो ।पाल्हीनन्दन गाउँपालिका प्रमुख बैजु प्रसाद गुप्ताले यस यन्त्रहरूको भरपूर सदुपयोग गरि उत्पादन बढाउन कृषकहरुलाई आग्रह गर्नुभएको छ । किसानले यसलाई घरमै नथन्काइ यसको भरपूर लाभ लिई व्यवसायिक कृषि खेती गर्ने र बढि बढीभन्दा बढी उत्पादन गरि आय आर्जनलाई मजबुद बनाउन उहाँको सुझाव छ ।कृषि ज्ञान केन्द्रका प्रमुख दिवेश कुमार मिश्राले अनुदानमा पाएको यी यन्त्रहरूलाई पुर्ण अपनत्व लिई परम्परागत तथा व्यवसायिक कृषि कार्यमा प्रयोग गरि अन्न बालीको उत्पादकत्व बढाई बढीभन्दा बढी आम्दानी गर्न सुझाव दिनुभयो ।