उदाहरणीय वडाध्यक्षः मोटरसाइकल किन्ने पैसा जनताको स्वास्थ्यमा

११ महिना अगाडि ७६१खबर डट कम संवाददाता

सर्लाही १६ मंसिर : जनप्रतिनिधिहरु सेवा सुविधामा आलोचित भइरहेकाबेला सर्लाहीका एकजना वडाध्यक्षले उदाहरणीय कार्य गर्नुभएको छ ।

सर्लाहीको हरिवन नगरपालिका वडा न ८ का वडाध्यक्ष यज्ञविनोद ढुंगानाले आफूलाई मोटरसाइकल किन्न भनेर नगरपालिकाले छुट्याएको पैसाबाट वडाबासीको उपचारका लागि खर्च गर्नुभएको छ । उहाँले उक्त रकमबाट जनताको उपचारका लागि एमबीबीएस डाक्टर उपलब्ध गराउनुभएको छ ।



स्थानीय अस्पतालमा चिकित्सक नहुँदा जनता उपचार गर्न अन्यत्र जानुपरेकाले एमबीबीएस डाक्टरका लागि खर्च गरिएको ढुंगानाले जानकारी दिए ।

सोही खर्चबाट स्वास्थ्य शिविर सञ्चालन गरिसकिएको छ । सर्लाही– ३ (क)का प्रदेशसभा सदस्य डिल्ली उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईं विशेष अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा हरिवन नगरपालिकाका उपप्रमुख रेणुका पौडेलसहित ८, ९र१० नम्बर वडाका वडाध्यक्षको उपस्थिति थियो ।