भदौ १९, तनहुँ - तनहुँको भानु नगरपालिका–६ का ३८ वर्षीय पुरुषलाई गत आइतबार कोरोना सङ्क्रमण पुष्टि भयो । घरमै अलग्गै कोठामा बस्नुभएका उहाँलाई बिहीबार मात्रै शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेशनमा लगियो ।“पहिला आइसोलेशनमा श्यया छैन भनियो । घरमै पनि सुरक्षित बसेको थिएँ । बुधबार साँझ यहाँ ल्याइएको छ,” उहाँले भन्नुभयो ।ती पुरुषसँगै भानु–६ मा एकैदिन २२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएको पाँच दिन पुग्दासमेत पाँच जना सङ्क्रमित अझै घरमा बसिरहेका छन् । ती १७ जना सङ्क्रमितलाई बिहीबार दिउँसोसम्म आइसोलेशनमा पु¥याइएको छ । तीमध्ये १५ जनालाई जिपी कोइराला सो केन्द्रको आइसोलेशनमा र दुई जनालाई दमौली अस्पतालले सञ्चालन गरेको आइसोलेशनमा राखिएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । बाँकी तीन जनालाई पनि छिट्टै आइसोलेशनमा ल्याउने उहाँले बताउनुभयो । “दुई जना सङ्क्रमितलाई घरमै बस्न उपयुक्त छ । उहाँहरुलाई होम आईसोलेसनमै राख्छौ,” उहाँले भन्नुभयो ।पछिल्लो समय जिल्लामा होम क्वारेन्टिनमा बस्न दिँदा परिवारका सदस्यलाई पनि सङ्क्रमण भएको घटना सार्वजनिक भइरहेको छ । आइसोलेशनमा लैजाने भएपछि सङ्क्रमितलाई पाँच दिनसम्म पनि घरमै राख्नु गम्भीर लापरवाही हो । “आइसोलेशन भरिभराउ भएकाले लैजान ढिलाई भएका हो । सरकारले गरेको निर्णयमा पनि घरमै आइसोलेशनमा बस्न चाहनेलाई राख्ने भनिएको छ । तसर्थ लापरवाही भएको होइन,” उहाँले भन्नुभयो । नगरप्रमुख गौलीले सङ्क्रमितकै सहमतिमा घरमा राखिएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, “अस्पताल ल्याएर पनि औषधि गर्ने त केही पनि होइन, ज्वरो आए सिटामोल दिन्छन् । नत्र भने आराम गर्ने, खाना दिने हो ।”कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापनमा स्थानीय तह लागिपरेको ६ महिना हुँदा समेत पर्याप्त आइसोलेशन छैन । पालिकामै आइसोलेशन बनाएर राख्दा सङ्क्रमितलाई जटिल समस्या देखिए सम्बन्धित अस्पताल लैजान टाढा पर्ने भएकाले भानुमा आइसोलेशन नबनाएको उहाँले जानकारी दिनुभयोवडा कार्यालय बन्दतनहुँको देवघाट गाउँपालिकामा शुक्रबार सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको स्वाब सङ्कलनको रिपोर्ट अनुसार गाउँपालिकामा कार्यरत दुई स्वास्थ्यकर्मी सहित सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।सङ्क्रमितमध्ये दुई स्वास्थ्यकर्मी कोटा स्वास्थ्यचौकीमा कार्यरत रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले जानकारी दिनुभयो । ती स्वास्थ्यकर्मीमध्ये एक महिला र एक पुरुष हुन् । उनीहरु दुवै भरतपुर निवासी रहेको र भरतपुरकै आइसोलेशनमा राखिएको स्वास्थ्य शाखा प्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।बाँकी पाँच जना भने कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका छन् । पाँच जना नै देवघाट गाउँपालिका–५ निवासी रहेको बुढाथोकीले जानकारी दिनुभयो । उहाँहरु सबैलाई होम आइसोलेशनमै राखिनेछ । गाउँपालिकाले १४ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएको थियो ।यसैबीच सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि देवघाट गाउँपालिकाले गाउँपालिकाको कार्यालय तथा वडा नं १ र ५ को कार्यालय बन्द रहने भएको छ । भदौ १९ गते शुक्रबारदेखि भदौ २४ गतेसम्मका लागि गाउँपालिका, वडा नं १ र ५ का वडा कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिनुभयो ।समुदायस्तरमा कोरोना सङ्क्रमण फैलन सक्ने उच्च जोखिम रहेकाले अत्यावश्यक काम बाहेक बाहिर हिँडडुल नगर्न र अत्यावश्यक काममा हिँडडुल गर्दा मास्क लगाउन आग्रह गरिएको छ । राससका अनुसार, हाल चलिरहेको पितृपुजन (सोह्र श्राद्ध) कार्यमा आफन्त, छरछिमेकी, बन्धुबान्धवलाई आमन्त्रण नगरी एकाघरका सदस्यमात्र सहभागी हुन, सकेसम्म पुरोहितलाई घर नबोलाई विद्युतीय तरिकाले तथा अन्य वैकल्पिक माध्यमबाट सोह्र श्राद्ध गर्न गाउँपालिकाले जनाएको छ ।